Ads3

फेसबुक टिप्पणीका कारण सुनाइएको मृत्युदण्डको सजाय साउदी अरबले उल्टायो

फेसबुक टिप्पणीका कारण सुनाइएको मृत्युदण्डको सजाय साउदी अरबले उल्टायो

फेसबुकमा गरेको टिप्पणीका कारण मृत्युदण्डको सजाय पाएका श्रीलङ्काली आप्रवासी कामदारको सजाय साउदी अरबको सर्वोच्च अदालतले बदर गरेको छ ।साउदी अरबको पुनरावेदन अदालतले इस्लाम धर्म र पैगम्बर मोहम्मदविरुद्धको टिप्पणीका लागि ‘ईशनिन्दा’ को कसुरमा दोषी ठहर गरेपछि २७ वर्षीय अनोजन शिवरासालाई गएको सेप्टेम्बर महिनामा मृत्युदण्डको सजाय सुनाएको थियो ।

यस घटनाले श्रीलङ्कामा ठूलो हलचल मच्चाएको र श्रीलङ्काले क्षमादानको प्रयासका लागि कूटनीतिक पहलहरूलाई अघि बढाएको बीबीसीले जनाएको छ ।

साउदी अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय खारेज गरेको श्रीलङ्काका उपविदेशमन्त्री अरुण हेमाचन्द्रले फेसबुक पोस्टमार्फत जानकारी दिनुभएको छ । त्यो पोस्टमा उहाँले दुवै देशका अधिकारी तथा कानूनी टोलीहरूलाई उनीहरूको प्रयासका लागि धन्यवाद पनि दिनुभएको छ ।

गएको जुन महिनाको अन्त्यतिर हिन्दू तीर्थयात्रीहरूको पछि लागिरहेको एउटा कुकुरलाई एक युवा मुस्लिम पुरुषले लात्ती हानेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि अनलाइनमा धार्मिक बहस निम्त्याएको थियो ।

कुराकानीका क्रममा एक प्रयोगकर्ताले हिन्दू देवी–देवताबारे अपमानजनक टिप्पणी गरेका थिए जसको जवाफमा शिवरासाले पैगम्बर मोहम्मदको अपमान गर्दै तमिल भाषामा प्रतिक्रिया दिएका थिए ।

शिवरासाले तुरुन्तै त्यो टिप्पणी हटाएर माफी माग्ने भिडियो पोस्ट गरे पनि त्यसको ‘स्क्रिनशट’ उनका रोजगारदाता र साउदी अधिकारीहरूको जानकारीमा पुग्यो जसका कारण गएको जुलाई महिनामा उनी पक्राउ परेका थिए ।

अब थप कानूनी कारबाही हुने वा नहुने तथा शिवरासा कति समयसम्म हिरासतमा रहने भन्ने कुरा स्पष्ट छैन । उनलाई शुरूमा अल–अहसा फौजदारी अदालतले पाँच वर्षको जेल सजाय र ३० लाख साउदी रियाल अर्थात् १२ करोड रुपैयाँभन्दा धेरै जरिवानाको फैसला सुनाएको थियो ।

शिवरासाको मुद्दाका सम्बन्धमा साउदी अरबसँग कानूनी वार्तामा संलग्न श्रीलङ्काली सांसद फाइजर मुस्तफाले सर्वोच्च अदालतको पछिल्लो फैसलाको समीक्षा भइरहेको बताउनुभएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्