सर्बियाका लामो समयदेखि नेतृत्वमा रहेका अलेक्जेन्डर भुचिचले आकस्मिक संसदीय चुनावमा विद्यार्थी आन्दोलनसमक्ष आफ्नो हार स्वीकार गर्नुभएको छ ।दक्षिणपन्थी लोकवादी नेता भुचिचले हार स्वीकार गरेपछि सर्बियालीले उत्सव मनाएका छन् । राजधानी बेलग्रेडसहित विभिन्न शहरमा मानिसहरू सडकमा निस्किएर नाचगान र आतिसबाजी गर्दै खुशी मनाएका हुन् ।
यसैबीच चुनाव जित्ने दल ‘स्टुडेन्ट लिस्ट’ का नेता इलिजा स्रदानोभिचले अब सर्बिया एक स्वतन्त्र राज्य बन्ने बताउनुभएको बीबीसीले जनाएको छ । सर्बियाको निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार यस पटक कीर्तिमान सङ्ख्यामा मानिसहरूले मतदान गरेका छन् ।
मतदाताहरूको यो उच्च सहभागिताले विद्यार्थी आन्दोलनलाई फाइदा पुर्याउन सक्ने विश्लेषकहरूले बताएका थिए । भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) ले दुई वर्षदेखि चलिरहेको सरकार विरोधी आन्दोलनको दबावबीच आकस्मिक चुनाव गराएको थियो ।
सन् २०२४ मा नोभी साद शहरको रेल्वे स्टेशनको छतको छाना खस्दा १६ जनाको ज्यान गएपछि आन्दोलन शुरू भएको थियो । यस घटनालाई भ्रष्टाचार र सरकारी लापर्बाहीको प्रतीकका रूपमा लिइएको थियो ।
चुनावमा भ्रष्टाचार विरोधी अभियान चलाएको विद्यार्थी समूह ‘स्टुडेन्ट लिस्ट’ ले सरकार विरोधी मतदातालाई आकर्षित गरेको थियो । यस समूहले संसद्का २५० सिटका लागि चिकित्सक, कलाकार, प्राध्यापक तथा खेलकुद क्षेत्रका व्यक्तिसहित विभिन्न पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएको थियो ।
विद्यार्थी आन्दोलनले भ्रष्टाचारमा संलग्न अधिकारीमाथि कारबाही, सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य तथा सरकारी प्रसारणमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने प्रतिबद्धता जनाएको छ ।
भुसिच दुई कार्यकाल राष्ट्रपति भइसकेकाले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न अयोग्य हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नो पार्टीलाई जिताएर फेरि प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्थ्यो । सन् २०१७ मा उहाँले प्रधानमन्त्री पद छाड्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्