काठमाण्डौ । यस वर्षको शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७१ देशका १ हजार ९८ जना आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार सन् २०२६ को यस याममा ४१ वटा हिमाल चढ्न एक सय ३० वटा टोलीलाई आरोहण अनुमति दिइएको हो । अनुमति लिनेमा ८ सय ३३ पुरुष र २ सय ६५ जना महिला आरोही रहेका छन् ।
आरोहण अनुमति बापत सरकारले २८ करोड २४ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । यस याममा सबैभन्दा बढी आकर्षक ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल बनेको छ ।
मनास्लु आरोहणका लागि मात्रै ४३ वटा टोलीका ५ सय जनाले अनुमति लिएका छन्, जसबाट २२ करोड ५८ लाख रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त भएको छ ।
यस्तै, आमादब्लमका लागि १ सय ७८ जना र हिम्लुङ हिमालका लागि ९४ जनाले अनुमति लिएका छन् । धौलागिरि, मकालु, पुथा हिउँचुलीजस्ता अन्य हिमालमा पनि आरोहण अनुमती लिएका छन् ।
विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १ सय ३२ जना नागरिक रहेका छन् । त्यसैगरी रसियाका ९६, अमेरिकाका ९४ र फ्रान्सका ९३ जना आरोही नेपाल आएका हुन् ।
नेपालका पनि २६ जनाले यस याममा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्