काठमाण्डौ । जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम गरेको छ ।
नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकामा जोड दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर अ क्याइमेट रेजिलियन्ट फ्युचर’ शीर्षकमा नेपालले आज विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिक प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो ।
मन्त्री खनालले हिमालय क्षेत्र ध्रुवीय क्षेत्रबाहेक विश्वको सबैभन्दा विशाल हिम भण्डार भएको वास्तविकता सुनाउँदै यस क्षेत्रबाट ६३ हजार ७०० भन्दा बढी हिमनदी बग्ने गरेका बताउनुभयो । पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको झण्डै एकतिहाइ भाग गुमाइसकेको बताउँदै उहाँले हिमनदीको ह्रासबाट तल्लो तटीय क्षेत्रका समुदायलाई असर पारिरहेको बताएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह आज बेलुका स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँले हिजो बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्नुभएको थियो ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित गएको मंगलबार बेलुका अमेरिका प्रस्थान गर्नुभएको थियो । महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्