भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ । 'कक्रोच जनता पार्टी’ (सीजेपी) ले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो । प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी २३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदर्शन स्थल जन्तरमन्तर र वरपरका क्षेत्रमा धारा १६३ लागू गरी कडा घेराबन्दी गरिएको छ भने सर्वसाधारणको आवतजावत नियन्त्रण गर्न ४५ भन्दा बढी मेट्रो स्टेशनका ढोका बन्द गर्नुका साथै २५० भन्दा बढी रेल सेवाहरू रद्द गरिएका छन् ।
यसैबिच, प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड जारी राखेको छ । सीजेपीका संस्थापक अभिजित दीपके, नेताहरू सौरभ दास र आशुतोष राङ्कालाई विमानस्थलबाटै पक्राउ गरेको छ । यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसएकी अध्यक्ष नेहा बोरा र चर्चित युट्युबर ध्रुव राठी लगायत तीन हजारभन्दा बढी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।
सयौँ समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ । मतदाता नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौँ वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो । निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्