काठमाण्डाै । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न ‘मातृ शिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका २०८३’ जारी गरेको छ ।
यसअघिको ‘स्वास्थ्य संस्थामा मातृ शिशुमैत्री सेवा अभियान निर्देशिका २०७३’ का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ ।
निर्देशिकाअनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ । त्यस्तै नवजात शिशुलाई आमाकै शय्यामा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ ।
निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री/वितरण नियन्त्रण) ऐन २०४९ को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री/वितरण र प्रवर्द्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्नेछ ।
सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट ‘डिस्चार्ज’ भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति ‘फोकल पर्सन’ तोक्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकाले स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने र आमालाई आवश्यक सहयोग उपलब्ध गराउनेछ । त्यस्तै आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नेमा जोड दिएको छ ।
नयाँ निर्देशिकामार्फत प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्