काठमाण्डौ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न भएको छ । मैदान र आसपासको क्षेत्र पानीले भरिएको छ । त्रिवि मैदानलाई त्रिपालले छोपिए पनि पानी त्रिपालभित्रै छिरेको छ ।
एनपीएलमा आज शनिबार २ वटा खेल हुने तालिका छ । तर वर्षाका कारण यी खेल हुने सम्भावना निकै कम छ । अस्तिको खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको हो । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन । मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ ।
तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ । एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एक/एक अंक बाँड्ने छन् ।
मैदान तयार हुन सके कम्तिमा ५ ओभरको खेल खेलाउने सम्भावना भने कायमै रहन्छ । तर मैदान जलमग्न हुँदा आजको लागि त्यो सम्भावना पनि निक्कै कम छ ।
प्रतिक्रिया दिनुहोस्