Ads3

साउदीको अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण : एम्नेष्टी इन्टरनेशनल

साउदीको अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण : एम्नेष्टी इन्टरनेशनल

काठमाण्डौ । साउदी अरबमा रहेका अमेजनको गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।

एम्नेष्टी इन्टरनेश्नलले हिजो सार्वजनिक गरेको प्रतिवेदनअनुसार तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत् काममा लगाइएका नेपालीसहितका आप्रवासी कामदारले न्यूनतम श्रमिक अधिकारसमेत उपभोग गर्न नपाएको उल्लेख छ ।

एम्नेष्टीले ‘साउदी अरबमा अमेजन : आप्रवासी श्रमिक किन अझै शोषणको जोखिममा छन्’ शीर्षकको प्रतिवेदनमा नेपाली र भारतीय श्रमिकले भोगिरहेका समस्या उजागर गरेको छ ।

यो प्रतिवेदन सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म गरिएको अनुगमन र अनुसन्धानमा आधारित रहेको छ । यस क्रममा साउदी अरबको रियादमा अमेजनको एउटा गोदाममा काम गरेका वा गरिरहेका भारत र नेपालका २४ जना श्रमिकसँग अन्तर्वार्ता गरिएको थियो ।

श्रमिकको भर्ती शुल्क, आवासको अवस्था र गुनासो सुनुवाइ प्रणालीमा केही सुधार गरे पनि कामको असुरक्षा, न्यून पारिश्रमिक र रोजगारदाताको मनोमानी कायमै रहेको प्रतिवेदनमा उल्लेख छ ।

कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेष्टीको प्रतिवेदनले उजागर गरेको छ । प्रतिवेदनमा श्रमिक आपूर्ति कम्पनीहरूले कामदारलाई अर्को रोजगारदाताकहाँ जान रोक्ने वा कम पारिश्रमिकमा काम गर्न दबाब दिने गरेको समेत उल्लेख छ ।

एम्नेष्टीले सन् २०२३ मा गरेको अनुसन्धानपछि अमेजनले केही सुधारका कदम चालेको थियो । त्यसैगरी श्रमिकको आवास सुविधा सुधार, गुनासो सुनुवाइ प्रणालीमा पहुँच र श्रमिक आपूर्ति कम्पनीमाथिको निगरानी बढाइएको अमेजनले जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्