सुरेन्द्र तामाङ / चैनपुर - चैनपुर नगरपालिका वडा नम्बर ७ को आयोजना तथा सूर्योदय आधारभूत विद्यालय फलाटेको आतिथ्यमा वडा स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
बुधबार आयोजित कक्षा १ देखि ५ सम्मका विद्यार्थी लक्षित प्रतियोगिताको वडा अध्यक्ष नगेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। प्रतियोगितामा वडा नम्बर ७ भित्रका सम्पूर्ण विद्यालयहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा बालविकास आधारभूत विद्यालय लामिचौर प्रथम, सूर्योदय आधारभूत विद्यालय फलाटे द्वितीय र आधारभूत विद्यालय पुरानो चैनपुर तृतीय भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः नगद ४ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यार्थीहरूको शैक्षिक ज्ञान, बौद्धिक क्षमता, स्मरणशक्ति तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै विद्यालयबीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्