काठमाण्डाै । सरकारले अब बन्ने सडकहरूमा आयातित अलकत्राको सट्टा स्वदेशी सिमेन्टको कङ्क्रिट प्रयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी निर्देशिका’ अनुसार अब सडक निर्माण गर्दा विदेशी बिटुमिनको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिटलाई प्राथमिकता दिइनेछ ।
यो निर्णयले वार्षिक झन्डै ११ अर्ब रुपैयाँ विदेशी मुद्रा बाहिरिनबाट जोगिने र स्वदेशी सिमेन्ट उद्योगले प्रोत्साहन पाउने सरकारको भनाइ छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार कङ्क्रिट सडकको शुरुआती लागत केही बढी भए पनि यसको आयु अलकत्राको भन्दा तीन गुणा धेरै हुन्छ ।
राष्ट्रिय योजना आयोगका अनुसार ‘रोलर कम्प्याक्टेड कङ्क्रिट’ जस्ता नयाँ प्रविधि प्रयोग गरी फलामे छडविना नै २५ वर्षभन्दा धेरै टिक्ने बलियो सडक निर्माण गर्न सकिन्छ । विशेषगरी हिमाली तथा चिसो ठाउँमा कङ्क्रिट सडक निकै प्रभावकारी हुनेछ ।
कङ्क्रिट सडकमा गाडीको टायर अलि धेरै खिइने समस्या हुने भए पनि माथिल्लो तहमा हल्का कालोपत्र गरेर यो समस्या समाधान गर्न सकिने विज्ञहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्