काठमाण्डाै । धादिङको गल्छी र रसुवाको स्याफ्रुबेँसी सडक खण्ड २ हप्ताभित्र सञ्चालनमा ल्याउने गरी काम थालेको सडक विभागले जनाएको छ । बाढीका कारण झन्डै ४० किलोमिटर सडकमा क्षति भएको छ ।
गएकाे बुधवार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुल बाङ्गिएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीको बहावका कारण पुलको बियरिङमा अत्यधिक दबाव परेपछि बाङ्गिएको हो ।
झन्डै ६०० टन भार क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो । पुल मर्मत नभएसम्म अहिलेका लागि हलुका गाडीलाई मात्र सञ्चालन गर्न दिने गरी सडक विभागले तयारी गरेको छ ।
पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने महानिर्देशक जैसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्