काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका शिलशिलामा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल १५ लाख र ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम पाँच लाख तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम पाँच लाख रुपैयाँसमेत गरी कुल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पायकपर्ने नेपाल एपिएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढीका कारण ज्यान गएमा राहतस्वरूप प्रतिव्यक्ति एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने तथा बाढीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारकसमेत निर्माण गर्ने भएको छ ।
बाढीमा परी सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई राहतस्वरूप जनही ५० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ ।
सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्