चक्रवात अर्नबका कारण भारतको आन्ध्र प्रदेश र आसपासका क्षेत्रमा अत्यधिक क्षति भएको छ । आन्ध्र प्रदेश र यानमबीचको तटीय क्षेत्रबाट प्रवेश गरेको यो चक्रवातका कारण रुख ढलेर, करेन्ट लागेर र पर्खाल भत्किँदा ७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अत्यधिक वर्षा र तीव्र हवाहुरीका कारण आन्ध्र प्रदेशको ३७ लाख एकड धान खेतीमध्ये झन्डै २६ लाख एकड धान बाली प्रभावित भएको छ ।
यसका साथै कोनासीमा र गोदावरी क्षेत्रमा केरा, नरिवल र मत्स्यपालनमा ठूलो नोक्सानी पुगेको छ । ६ हजारभन्दा धेरै बिजुलीका पोल ढलेका बीबीसी हिन्दीले जनाएको छ ।
चक्रवात आउनुअघि नै आन्ध्र प्रदेश र ओडिशाबाट १ लाख ८० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो । पूर्वतयारीका कारण ओडिशामा भने मानवीय क्षति हुनबाट रोकिएको छ । क्षति आँकलनका लागि आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले केन्द्र सरकारसँग टोली माग गर्नुभएको छ ।
राज्य सरकारले मृतकका परिवारलाई ५ लाख रुपैयाँ र प्रभावितहरूलाई खाद्यान्न तथा राहत रकम वितरण गर्ने घोषणा गरेको छ ।
यसैबीच चक्रवात कमजोर भई न्यून चापीय प्रणालीमा परिणत हुँदै गए पनि सिक्किम, पश्चिम बङ्गाल र दिल्ली–एनसीआर क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्