काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी मेटाविरुद्ध बालबालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनुवाइ शुरु भएको छ ।
क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अदालतमा हिजोदेखि शुरु भएको सुनुवाइमा विभिन्न अमेरिकी राज्यका सरकारी वकिल र मेटाका कानुनी प्रतिनिधिले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
मुद्दाको सुनुवाइ झण्डै छ हप्तासम्म चल्ने बीबीसीको खबरमा उल्लेख छ । क्यालिफोर्नियाका वकिलहरूले मेटालाई ११ र १२ वर्ष उमेरका लाखौँ बालबालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन् ।
तर मेटाले भने त्यस्ता प्रयोगकर्ता १ लाखभन्दा बढी मात्र फेला परेको दाबी गर्दै सामाजिक सञ्जालको लतसम्बन्धी आरोपलाई अस्वीकार गरेको छ । कम्पनीले सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै किशोरकिशोरीले सकारात्मक अनुभव पनि गरेको भन्दै राज्यका वकिलहरूले त्यसलाई बेवास्ता गरेको तर्क गरेको छ ।
क्यालिफोर्निया र न्यूयोर्कसहित अमेरिकाका २९ राज्यले सन् २०२३ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए । ती राज्यहरूले मेटाले बालबालिकासम्बन्धी संघीय तथा राज्यका गोपनीयता कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
राज्यहरूले मेटासँग अर्बौँ डलर क्षतिपूर्ति माग गर्नुका साथै फेसबुक र इन्स्टाग्राममा ‘लाइक’ संख्या देखाउने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई लगातार स्क्रोल गराइरहने प्रणालीमा परिवर्तन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्