काठमाण्डौ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ ।
नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई ११६ रनले पराजित गरेको हो । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली २८ ओभरमा ७२ रनमै अलआउट भयो ।
कर्नाटकका शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करन केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान २ विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा १८८ रन बनाएको थियो । नेपालका आसिफ शेखले सर्वाधिक ४९ तथा इशान पाण्डेले ३४, देव खनालले २७ र सन्दीप जोराले २७ रन बनाए ।
नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा पनि नेपालले तीन दिन अभ्यास गर्नेछ ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ । त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्