काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार ४४१ जना रहेको छ । अघिल्लो वर्ष साउनमा ६८ हजार ११० जना विदेश गएका थिए ।
यस्तै, चालु आर्थिक वर्षमा श्रमस्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढेको छ । विभागका अनुसार गएको वर्षको साउनमा ९ हजार १६२ महिला रोजगारीका लागि विदेश गएका थिए । यो वर्षको साउनमा ९ हजार ९६९ जना छ ।
समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ । विभागले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको जनाएको छ ।
पछिल्लो समय स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेको हो । विदेश जानेको समग्र संख्या बढ्दा विदेशबाट आउने रेमिट्यान्स २२ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्