काठमाण्डौ । आज १९ औं राष्ट्रिय सूचना दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भएको थियो ।
त्यसपछि सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ ३ मा राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो ।
नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसका अवसरमा कार्यक्रम गर्ने गरिन्छ । नेपालको संविधानको धारा २७ ले हरेक नागरिकलाई सूचनाको हकको मौलिक अधिकार दिएको छ ।
दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग तथा देशैभरका जिल्ला प्रशासन, पालिका र सार्वजनिक निकायले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
आज सूचनाको हकका क्षेत्रमा योगदान पुर्याउने अभियन्ता, पत्रकार र उत्कृष्ट सूचना अधिकारीलाई सम्मान तथा पुरस्कार वितरण गरिन्छ ।
त्यस्तै, सचेतनामूलक अन्तरक्रिया, गोष्ठी, विचार–विमर्श र प्रचार–प्रसारका कार्यक्रमहरू आयोजना गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्