काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
विभिन्न माग राखेर ५ दिनदेखि ललितपुरको पुल्चोकमा रहेको मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकको स्वास्थमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ ।
आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएकोे छ । विज्ञप्तिमा धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनिहरुलाई उचित ठाउँमा स्थानान्तर गर्न र स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ ।
समस्या समाधानका वार्ता टोली गठन भएकोमा आयोगले सकारात्मक रुपमा लिएको जनाएको छ । समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्नसमेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्