Ads3

क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरुको दाबी

क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरुको दाबी

अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ ।

औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किट्रुडा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ । एक हजारभन्दा बढी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण–३ को परीक्षणमा खोप र किट्रुडाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सरमुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ ।

साथै, क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिमसमेत घटेको दाबी गरिएको छ । ‘इन्टिस्मेरान’ नाम दिइएको यो खोप हरेक बिरामीको ट्युमरअनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ । खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ ।

यसमा कोभिड–१९ विरुद्धका केही खोपमा प्रयोग भएको एमआरएनए प्रविधिको प्रयोग गरिएको छ । कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण समीक्षा हुन बाँकी छ ।

त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सरमुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन् । 

Muktinath

प्रतिक्रिया दिनुहोस्