काठमाण्डाै । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा अस्ति मङ्गलवारदेखि हराएका साढे २ वर्षका बालक आज वन क्षेत्रमा फेला परेका छन् । गैँडाकोट नगरपालिका वडा नम्बर १४ भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जङ्गलमा फेला परेका हुन् ।
बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलास गर्दा ३ दिनपछि घरबाट झन्डै ४ किलोमिटर टाढा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
झन्डै ५० घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन् । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ ।
रोजगारीका क्रममा आमाबुवा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए । अस्ति मङ्गलवार बिहान ७ बजेतिर हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए । बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गर्दा आज बिहान १० बजे भेटिएका हुन् ।
आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्