काठमाण्डाै । नेपालसहित चार वटा दक्षिण एशियाली देशबीच भन्सारमा मालवस्तु आइपुग्नुअघि नै त्यसको अग्रिम सूचना आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
माल्दिभ्समा आयोजित भन्सार निकायहरूको १४औँ बैठकका क्रममा नेपाल, भूटान, बङ्गलादेश र माल्दिभ्सले सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार अब सीमापारिबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ । यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसारपसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपास गराउन सजिलो हुनेछ ।
यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च घटाउनुका साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमानयोग्य बनाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्