अमेरिकाको सार्वजनिक ऋण एक दशकमा दोब्बरभन्दा धेरैले बढेर पहिलो पटक ४०० खर्ब डलर नाघेको छ । अमेरिकी अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार हिजोसम्म सङ्घीय सरकारको ऋण ४०० खर्ब ४७ अर्ब डलर पुगेको हो । यसमध्ये ३२२ खर्ब ६६ अर्ब डलर सरकारी ऋणपत्रमा सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको ऋण हो भने ७७ खर्ब ८२ अर्ब डलर सरकारी निकायहरूबीचको ऋण हो ।
सरकारी खर्च आम्दानीभन्दा निरन्तर धेरै भइरहेका बेला यो स्तरमा पुगेको ऋणले अमेरिकाले गम्भीर वित्तीय सङ्कटको सामना गर्न सक्ने चिन्ता बढाएको समाचार संस्था राेयटर्सले जनाएकाे छ ।
सन् २०१७ को जनवरीमा डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपति पदको शपथ लिँदा अमेरिकाको ऋण १९९ खर्ब ५ अर्ब डलर रहेको थियो ।
त्यसयता सन् २०२० मा शुरू भएको कोभिड–१९ महामारीपछिका २ वर्षमै झन्डै एकतिहाइ ऋण थपिएको हो । महामारी नियन्त्रण तथा आर्थिक राहतका लागि तत्कालीन ट्रम्प प्रशासन र त्यसपछि जो बाइडेन प्रशासनले ठूलो मात्रामा ऋण लिएर खर्च गरेका थिए ।
यस्तै बाँकी हिस्साको कारणमा ट्रम्प र जो बाइडेन प्रशासनका आर्थिक नीति र लामो समयदेखिको कर तथा खर्चबीचको असन्तुलन रहेको छ ।
मध्यपूर्वमा चलिरहेको युद्धले पनि अमेरिकी सरकारमाथि थप आर्थिक दबाव सिर्जना गरेको छ । युद्धमा अहिलेसम्म झन्डै ३ खर्ब ७५ अर्ब डलर सैन्य खर्च भइसकेको विवरण सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस्