काठमाण्डौ । बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । हिजो दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन् । आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई अस्थायी टहरामा सारिएको छ ।
यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्