Ads3

रास्वपा प्रवक्तामा खरेल, सङ्गठन विभाग प्रमुखमा न्यौपाने

रास्वपा प्रवक्तामा खरेल, सङ्गठन विभाग प्रमुखमा न्यौपाने

काठमाण्डाै । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाण्डौमा आज बसेको केन्द्रीय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव सचिवालय सदस्यमा मनोनीत हुनुभएकाे हो ।

पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले पाउनुभएकाे छ । पार्टीको सङ्गठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपाने अनुमोदन हुनुभएको छ । त्यस्तै सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनीत हुनुभएको छ ।

केन्द्रीय सदस्या झाका अनुसार बैठकले कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ ।

यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनीत हुन बाँकी रहेको छ ।

बैठकले थप ९ जना केन्द्रीय सदस्यसमेत मनोनीत गरेको छ । केन्द्रीय सदस्य मनोनीत हुनेहरूमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भक्तबहादुर राई र भूपदेव शाह हुनुहुन्छ ।

गएको असार ७ देखि १२ गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो ।

यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो । तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएन ।

Muktinath

प्रतिक्रिया दिनुहोस्