काठमाण्डाै । अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको सिकार गर्ने अनुज्ञापत्र अर्थात् लाइसेन्सका लागि आवेदन खुलाएको छ ।
नेपालमै पहिलोपटक अर्घाखाँचीमा कृषकको बालीनाली जोगाउन जङ्गली जनावरको सिकार गर्न कानुनी अनुमति दिइने भएको हो । डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको सिकार गर्न चाहनेले यही भदौ १० गतेभित्र रीतपूर्वक निवेदन दिन भनेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीअनुसार दिइने यस्तो अनुमतिपत्र लिन ७ हजार र दुईवटा बँदेलको सिकार गर्न थप १० हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।
नियमानुसार एक व्यक्तिले वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाघ्ने गरी सिकार गर्न पाउनेछन् । निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्रसहितका कागजात बुझाउनुपर्छ ।
पछिल्लो समय बँदेललगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढेका छन् । खेती जोगाउन कठिन भएको गुनासो सडकदेखि संसद्सम्मै जोडतोडका साथ उठ्दै आएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्