Ads3

सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव सङ्कलन गर्दै

सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव सङ्कलन गर्दै

काठमाण्डाै । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शिक्षा मन्त्रालयले आज काठमाण्डौमा आयोजना गरेको ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उहाँले याे प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।

मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिनुभयो ।

छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलका अनुसार सङ्कलित सुझावहरूलाई आवश्यकताका आधारमा ऐन, नियमावली तथा नीतिगत तहमा समावेश गरी विधिगत रूपमा कार्यान्वयन गरिनेछ । मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने उहाँको भनाइ छ ।

विधेयक निर्माणको काम अझै चलिरहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक सङ्घीय संसद‍्मा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव सङ्कलनको क्रम नरोकिने बताउनुभयो ।

सुझाव सङ्कलनका लागि उपयुक्त मञ्चको समेत व्यवस्था गरिने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्