काठमाण्डौ । बाराको सिमरामा एक बालिकाको बलात्कार र हत्या घटनाका आरोपी किशोरको बयान भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।
पक्राउ परेका १६ वर्षीय किशोरले घटनाको योजना र संलग्नताबारे बोलिरहेको भिडियो फेसबुक, टिकटक, एक्स र रेडिटजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठेको हो ।
प्रहरी हिरासतमा रहेको अवस्थामा खिचिएको भिडियो बाहिरिएपछि मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराले छुट्टाछुट्टै आन्तरिक छानबिन शुरु गरेका छन् ।
भिडियो कसरी र कसको संलग्नतामा बाहिर गयो भन्नेबारे छानबिन भइरहेको र दोषीमाथि कारबाही गरिने मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अदालतमा अभियोगपत्र दायर नभएसम्म अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान वा बयान सार्वजनिक गर्न पाइँदैन ।
यसैबीच, प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाइनु गलत भएको बताउनुभएको छ ।
पीडितको पीडालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानुनबमोजिम सजाय हुनुपर्ने तर न्यायको प्रक्रिया उल्लङ्घन गर्न नहुने उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्