विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।
उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ । प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसका सांसदहरूले भने विपक्षमा मतदान गरे ।
कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् । राप्रपाका सांसदहरू भने तटस्थ बसे । कोशीमा राप्रपाका सभामुख सहित ५ सदस्य छन् । जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बु अनुपस्थित भइन् ।
९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् । सोमबारको प्रदेशसभा बैठकका ८३ सदस्य उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्