Ads3

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूची’ बाट हटायाे

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूची’ बाट हटायाे

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूची’ बाट हटाएको छ । अमेरिकाले सन् १९७९ देखि सिरियालाई याे सूचीमा राखेकाे थियाे ।

अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ ।

सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरी ३ वटा देशमात्र बाँकी छन् ।

यस सूचीमा पर्दा आर्थिक प्रतिबन्धहरू तथा अमेरिकी वैदेशिक सहायता एवम् रक्षा सामग्रीको निर्यात र बिक्रीमा रोक लाग्ने गर्दछ । साथै प्रतिबन्धित देशसँग व्यापार गर्ने व्यक्ति तथा अन्य देशहरूलाई पनि कारबाहीको दायरामा ल्याउन सकिन्छ ।

भर्खरै ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शारासँगको सम्पर्क पनि बढाएको छ । अल–शारा पहिले एक लडाकु सङ्गठनका नेता थिए र अमेरिकाले कुनै समय उनको टाउकोको मूल्य तोकेको थियो । उनले अल–कायदामा आबद्ध सङ्गठनको नेतृत्व गरेका छन् ।

गएको वर्ष अमेरिकाले अहमद अल–शाराको नेतृत्वमा रहेको इस्लामवादी सङ्गठन ‘तहरिर अल–शाम’ लाई आफ्नो आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाएको थियो ।

अमेरिका सिरियालाई रुस वा चीनको प्रभाव क्षेत्रमा पर्न नदिई आफ्नो प्रभावमा ल्याउन चाहन्छ । तर यसमा जोखिमहरू निकै ठूला छन्, किनकि सिरिया अझै पनि सुरक्षित छैन र त्यहाँ प्रतिनिधिमूलक सरकारको अभाव छ । साथै आफ्ना छिमेकी देशहरू इजरायल र टर्कीबीच बढ्दो तनावको केन्द्रविन्दुमा पनि सिरिया नै रहेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्