काठमाण्डाै । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ । धादिङको मलेखु क्षेत्र त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ । यो क्रम बढ्दो रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुको त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ । यो ठाउँमा ८ मिटर पानीको सतह पुगेपछि खतराको तह मानिन्छ ।
भोटेकोशीमा आज बिहान आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीको फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र निरन्तर बढिरहेको शाखाले जनाएको छ । जलसतह बढिरहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा त्रिशूली करिडोर हुँदै सकभर यात्रा नगर्न आग्रह गरिएको छ ।
रसुवा तथा नुवाकोट आसपासका क्षेत्रमा पानी पर्न सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अपनाउन भनिएको छ ।
रसुवाको भोटेकोशी हुँदै नुवाकोट र धादिङसम्म बाढी प्रवेश गरिसकेको छ । बाढीको विपद्मा परेकाहरूको खोज तथा उद्धार कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्