काठमाण्डाै । रसुवा र नुवाकोटका गरी १३ वटा प्रमुख जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ । जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत् प्राधिकरण तथा ऊर्जा प्रवर्द्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार कुल ७४८.१२ मेगावाट क्षमताका आयोजनाहरू बाढीको चपेटामा परेका छन् ।
यसमध्ये सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने ३९४ मेगावाटका ५ वटा निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन् । बाढीसँगै नदीमा आएको अत्यधिक बालुवा, लेदोका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नुपरेको छ ।
रसुवामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला गरी २३१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
त्यसैगरी नुवाकोटमा नेपाल विद्युत् प्राधिकरण मातहतका ४ वटा सरकारी आयोजना – ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, २४ मेगावाटको त्रिशूली जलविद्युत्, १४.१ मेगावाटको देवीघाट र २५ मेगावाटको नुवाकोट ग्रिड सोलार गरी १२३.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।
एकैपटक ३५४ मेगावाटभन्दा धेरै विद्युत् उत्पादन गुम्दा काठमाण्डौ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत् व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ ।
रसुवामा निर्माण भइरहेको २१६ मेगावाटको राष्ट्रिय गौरवको निजी आयोजना ‘माथिल्लो त्रिशूली–१ को पहुँचमार्ग, टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ । यसैगरी १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए का बाँध र पेनस्टक संरचना बाढीले बगाएको छ ।
रसुवामा मात्रै निर्माणाधीन ३ वटा आयोजनाको ३४२.४२ मेगावाट क्षमता प्रभावित भएको छ । नुवाकोटतर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी र १५.६ मेगावाटको मिडल त्रिशूली गङ्गा गरी ५२.६ मेगावाटका २ वटा आयोजनामा बाढी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन् । १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका प्रवर्द्धक कम्पनीका रहेका छन् जसको क्षमता ६२५ मेगावाट रहेको छ ।
सरकारी स्वामित्वको विद्युत् प्राधिकरणअन्तर्गत नुवाकोटमा रहेका ४ वटा सञ्चालित आयोजनाहरूको १२३.१ मेगावाट क्षमता प्रभावित भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रारम्भिक अनुमानअनुसार निजी क्षेत्रका जलविद्युत्मा मात्र ५ अर्ब रुपैयाँभन्दा धेरैकाे भौतिक नोक्सानी भएको जनाएको छ ।
त्रिशूली–काठमाण्डौ प्रसारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङ ल्हामु राजमार्गका विभिन्न ठाउँ पहिरोले अवरुद्ध भएकाले आयोजनासम्म प्राविधिक टोली र गह्राैँ उपकरण पुर्याउन कठिन भएको छ ।
लाङटाङ खोला आयोजनाको २ वटा ट्रान्समिशन टावर ढलेका छन् भने माथिल्लो त्रिशूली–३ ए को स्विचयार्ड नजिकैको डाँडो भासिएकाले तत्काल रोकथामको काम थालिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्नेबित्तिकै आकस्मिक मर्मत गरी १ देखि ३ हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्