काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ । शवको सनाखत कठिन हुँदै गएर राख्ने ठाउँको अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखिएपछि सनाखत नभएका शव जमिनमा गाड्न शुरु गरिएको छ ।
पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ ल्याएर सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालेको हो । निर्देशिका संशोधनलगत्तै चितवनमा शव व्यवस्थापनको काम शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानमा सहयोग गर्ने अरु आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्न थालेको बताउनुभएको छ ।
बाढीपछिको उद्धार, उपचार, व्यवस्थापन र सञ्चार पुनःस्थापनालगायतबारे सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै उहाँले पहिचान भएका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको स्पष्ट पार्नुभयो ।
पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डीएनएलगायत अरु पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफैं व्यवस्थापन गर्न लागेको उहाँको भनाइ छ ।
परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको भन्दै उहाँले यस विषयमा कुनै पनि भ्रममा नरहन पनि अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्