Ads3

बसाइँसराइ रोक्न छथर जोरपाटी गाउँपालिकाले गाई वितरण छाडेर सुरक्षित आवास बनाउँदै

बसाइँसराइ रोक्न छथर जोरपाटी गाउँपालिकाले गाई वितरण छाडेर सुरक्षित आवास बनाउँदै

काठमाण्डौ । गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई गाउँमै टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ । पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ‘दुहुना गाई’ वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब ‘सुरक्षित आवास’ कार्यक्रमलाई प्राथमिकता दिने भएको हो ।

नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालनमार्फत आम्दानीको स्रोत सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि ‘दुहुना गाई’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो। पाँच वर्षको अवधिमा ५० परिवारलाई लैनो गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष नौ परिवारलाई गाई वितरण गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा चार र २०८१/८२ मा तीन परिवारले गाई पाएका थिए ।

गाई वितरणमार्फत नयाँ परिवारलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने र दूध उत्पादनबाट आम्दानीको अवसर सिर्जना गर्ने गाउँपालिकाको उद्देश्य थियो । तर, गाई वितरण मात्रै गरेर परिवारलाई दीर्घकालीन रुपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरुप परिवर्तन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाइँसराइ गरेर आउने परिवारका लागि आयआर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्