चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यका साथ आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा खेतीको प्रयोगलाई तीव्रता दिएको छ । अन्तरिक्ष केन्द्रभित्र अहिलेसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति र खाद्य बालीहरूको सफल उत्पादन भइसकेका केन्द्रलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
अन्तरिक्ष केन्द्रभित्र अहिले सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँ जस्ता दैनिक उपभोग्य बालीहरू हुर्किरहेका छन् । बिरुवाहरूलाई विशेष माध्यमका साथै पोषक तत्वयुक्त पानी र हावामा आधारित प्रविधि मार्फत हुर्काउने काम भइरहेको छ ।
यस अभियानमा वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो सफलता गहुँ खेतीमा मिलेको छ । गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ भने पहिलो पटक उत्पादित बीउबाट लगाइएको दोस्रो चरणको गहुँ पनि अहिले कटानीको नजिक पुगेको छ ।
यस प्रयोगले भविष्यमा पृथ्वीबाट निरन्तर खाद्यान्न र बीउ पठाउनुपर्ने निर्भरतालाई उल्लेख्य रूपमा घटाउनेछ । चीनले अन्तरिक्षमै हावा, पानी र खाद्य पदार्थको पुनःउत्पादन गर्ने ‘नियन्त्रित जीवन–समर्थन प्रणाली’ विकास गरिरहेको छ ।
सन् २०३० सम्ममा मानवसहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको चीनले भविष्यमा चन्द्रमाकै धरातलमा ‘तरकारी बगैँचा’ स्थापना गर्ने दीर्घकालीन योजनासमेत अघि बढाएको छ । यसबाट चन्द्रमामा लामो समय रहने अन्तरिक्षयात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सकिने वैज्ञानिकहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्