अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात (एआई) एजेन्टले सरकारको मेडिकेयर तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ ।
यो घटना ३ महिनाअघि जुनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैरसार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको रोयटर्सले जनाएको छ ।
पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क, खर्चलगायत गैरसंवेदनशील विवरण राखिएका छन् । ओपनएआईले भने आफ्नो आन्तरिक मूल्याङ्कनका क्रममा एआई मोडलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ ।
अल्बानिजले घटनाबारे ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको बताउनुभएको छ । उहाँले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई जानकारी गराउन ओपनएआईले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
ओपनएआईले अगस्टमा घटनाबारे जानकारी पाए पनि अस्ट्रेलियाली सरकारलाई सेप्टेम्बर १० मा मात्र जानकारी गराएको बताइएको छ । घटनाबारे अस्ट्रेलियाली संकेत निर्देशनालयको सहयोगमा फरेन्सिक अनुसन्धान भइरहेको छ ।
अल्बानिजले सरकारी वेबसाइटमा एआई एजेन्टले अनधिकृत प्रवेश गर्नु ‘अस्वीकार्य’ भएको बताउनुभएको छ । घटनाले स्वायत्त रूपमा काम गर्ने एआई एजेन्टबाट सरकारी तथा अन्य डिजिटल पूर्वाधारको सुरक्षामा उत्पन्न हुन सक्ने जोखिमबारे नयाँ चिन्ता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्