काठमाण्डौ । ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावनना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट दुर्घटना, चोटपटक र जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो ।
मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ । साथै, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।
सम्भावित विपद्का घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन, एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय र सञ्चालन गर्न तथा आवश्यकताअनुसार सङ्घीय र प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले वर्षाका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति सतर्क रहन तथा विपद्का समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वतयारी गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्