काठमाण्डाै । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीमा पानीको बहाव क्रमशः खुल्न थालेको छ ।
नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको मर्स्याङ्दी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभयो । नदी थुनिएको क्षेत्रमा सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
बाढीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी खनालले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै पनि सतर्क रहन आग्रह गर्नुभएको छ ।
नासों गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएका छन् ।
बाढीको जोखिम केही कम भएपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायत सार्वजनिक भवन तथा स्थलमा आश्रय लिएका स्थानीयवासी आज बिहानैदेखि आफ्ना घर तथा गाउँमा भएको क्षतिको अवस्था बुझ्न थालेका छन् ।
निरन्तरको वर्षाका कारण ठाडो खोला र घट्टेखोलामा आएको बाढीले नदी तथा खोलाको आसपास कटान गर्दा घर, पुल र सडकमा समेत क्षति पुगेको छ । यसअघि २०७८ साल जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला तथा मस्र्याङ्दी नदीमा आएको बाढीले पनि मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्