काठमाण्डौ । वर्षा, बाढी, पहिरो र हिमपातका कारण नेपाल–चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन् । रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थलमार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको छ ।
मुस्ताङमा गएको शनिवार रातिदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रेभीरदेखि कोरला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पहिरो, बाढी र गेग्रानले सडक पुरिनुका साथै कोरला पास क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ ।
सडक अवरुद्ध भएपछि कोरला नाकाबाट हुने चीनसँगको व्यापार तथा सीमापार आवागमन ठप्पजस्तै भएको छ । कोरला भन्सार यार्डमा मात्रै दुई सयभन्दा बढी कन्टेनर रोकिएका छन् । रसुवागढी–केरुङ नाका गएको भदौ १० गतेको विनाशकारी बाढीका कारण बन्द छ ।
यस्तै सिन्धुपाल्चोकको तातोपानी नाकातर्फको सडकमा पनि वर्षासँगै बाढी र पहिरोले सडक तथा पुलमा क्षति पु¥याएपछि नाका प्रभावित छ । चीनसँग व्यापार हुने तीन प्रमुख स्थल नाका एकैपटक बन्द हुँदा नेपाल–चीनबीचको स्थल व्यापारमा प्रत्यक्ष असर परेको छ ।
विशेषगरी दशैँ तथा चाडपर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपडा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ । सडकमा जम्मा भएका पहिरो, बाढी र गेग्रान हटाएर यातायात सञ्चालनमा नल्याएसम्म व्यापार नियमित हुने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्