काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ ।
काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनुभएको हो ।
उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल २ हजार ३७२ मेगावाट बिजुली उपलब्ध हुने अनुमान छ । अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम विन्दु २ हजार २९२ मेगावाट पुगेको थियो ।
कार्यकारी निर्देशक श्रेष्ठले गएको भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् केन्द्रमा क्षति हुँदा ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको बताउनुभयो । बाढीबाट प्राधिकरण र सहायक कम्पनीका संरचनामा झन्डै ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
कार्यकारी निर्देशक श्रेष्ठले खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र विद्युत् गृहमा जम्मा भएको ढुङ्गा–माटोको लेदो हटाउने काम अघि बढाउने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्