काठमाण्डाै । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ ।
आउँदो चार वर्षका लागि कांग्रेसको वैचारिक, सङ्गठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरिएको यो प्रतिवेदनमा विगतका कमजोरीको निष्पक्ष आत्मसमीक्षा गरिएको छ ।
प्रतिवेदनमा पछिल्ला दुई दशकमा पार्टी उद्देश्यभन्दा पद र सत्तामा केन्द्रित भएको, भागबन्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवापुस्तासँगको दूरी बढेको यथार्थ स्वीकार गरिएको छ । नागरिकसँग औपचारिक रूपमा क्षमायाचना गर्दै पार्टीलाई पूर्णरूपमा पुनर्संरचना गर्ने प्रतिवेदनमा उल्लेख छ ।
मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेन्डा र उम्मेदवारसहित मतदातामा जाने नीति लिइएको छ ।
उम्मेदवार छनोटमा प्राथमिक चुनाव प्रणाली अपनाउने र प्रधानमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने प्रस्ताव छ ।
त्यस्तै संसद्मा ३८ सिटसहित सरकारका कामकारहीमाथि कडा निगरानी राख्न ‘छायाँ सरकार’ को अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागबन्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ ।
अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन, उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ ।
भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ ।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणासहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्