खाँदबारी । मंगलबार बिहान करिब २ बजेको समयमा नकावधारीले सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ३ को मानेभञ्ज्याङमा पसल लुट्ने प्रयास गरेका छन् । स्थानीय धराने साहु भनेर चिनिने एक ब्यापारीको पसल लुट्ने प्रयास गर्ने क्रममा प्रतिकार गर्दा ३ जना घाईते भएका छन् ।
उक्त घटनामा संलग्न रहेको आसंकामा दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिरेन्द्र गोदारले जानकारी दिए । मानेभञ्ज्याङका स्थानीयको सहयोगमा दुई जनालाई पक्राउ गरि अहिले मानेभञ्ज्याङ प्रहरी चौकीमा राखिएको डिएसपी गोदारलले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भईरहेको उनले बताए ।
घाइतेहरु करिब २८ बर्षका सन्दिप भगत, ३७ बर्षकी तारादेवी श्रेष्ठ र ६२ बर्षकी निता श्रेष्ठलाई उपचाराका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । आक्रमणकारीले पसलमा चोरी गर्ने उद्देश्य राखि मूलढोकाको ताला फुटाएको र अर्को ढोकामा प्रहार गरिरहेको अवस्थामा पसलधनीले थाहा पाएर होहल्ला गर्दा उनीहरुमाथि आक्रमण भएको बताइएको छ । धराने परिवारका छिमेकीहरुले समेत घटना थाहा पाएर होहल्ला गरेपछि आक्रमणकारी फरार भएको प्रनि खनालले बताए ।











