काठमाडौं । २०७४ साल फागुन २१ गते संघीय संसद् भवन नयाँ बानेश्वर छिरेका प्रतिनिधिसभाका सांसदहरु साढे ४ वर्षपछि बिदा हुँदैछन्।
संविधानले पाँच वर्षको कार्यकाल भने पनि स्पष्ट कानुन नहुँदा अर्थात अभ्यास र नजिरको आधारमा आगामी चुनावको लागि मनोनयन बुझाएसँगै सकिने निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक उम्मेदवारको मनोनयन असोज २ गते कार्यकाल सकिने भएपछि संसद सचिवालयले असोज १ गतेसम्म सांसदहरुको बिदाई कार्यक्रम गर्ने तयारी गरेको छ।
सरकारले सांसदको कार्यकाल लम्ब्याउनेसहितको प्रस्ताव ल्याएपनि चौतर्फी विरोधपछि पछि हटेको थियो। सरकार पछि हटेपछि संसद् सचिवालय पनि निर्वाचन आयोगले भनेअनुसारको मिति कुरेर बसिरहेको छ।
जसअनुसार सांसदहरुको कार्यकाल ४ वर्ष ६ महिना १० दिन जति हुने भएको छ। संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डे बिदाइ गर्नेबारेमा छलफल भए पनि टुंगोमा पुगिनसकेको थाहा सञ्चार नेटवर्कलाई बताउँछन्।
असोज २ गते कार्यकाल सकिने भन्ने बुझाई हो। १ गतेसम्म सामान्य चियापान गरेर बिदा गर्ने कि भन्नेमा समान्य छलफल भएको छ, टुंगो लाग्न बाँकी छ। उनले भने।
सचिवालयका अनुसार भदौको ३०, ३१ गते र असोज १ गते सांसदहरुको बिदाई कार्यक्रम गरिनेछ। तर, सांसदहरुले संसद् छिर्दा लगाएको सांसदको लोगो भने फिर्ता दिनुपर्ने छैन।
‘उहाँ ९सांसद०हरुलाई सम्मानस्वरुप लगाइदिएको हो, उहाँहरुले फिर्ता गर्नुपर्छ भन्ने छैन, चिनोको रुपमा लिएर जान सक्नुहुन्छ।’ पाण्डेले भने।
सांसदको मुख्य काम कानुन बनाउने हो। पर्याप्त कानुन दिन नसक्ने सांसदले लोगो मात्र होइन बसेका बैठकबाट लाखौँ भत्ता र तलब भने लिइसकेका छन्।