संखुवासभाको दुर्गम किमाथांका पठाइयो निर्वाचन सामग्री

संखुवासभा । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चीनको सीमावर्ती दुर्गम किमाथांकामा निर्वाचन टोली पठाइएको छ ।

आइतबार भोटखोला गाउँपालिका– १ को चीनको सीमावर्ती किमाथांका र वडा नम्बर २ को रिदाक र थुदाममा निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत र सुरक्षाकर्मीसहितका टोली पठाइएको हो ।

सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किमि टाढा रहेको किमाथांका, रिदाक र थुदाम पुग्न तीन दिन पैदल लाग्छ । खाँदबारीदेखि वरुणसम्म यातायातको सुविधा भए पनि त्यहाँदेखि पैदल हिँड्नुपर्छ । ३० कात्तिक बेलुकीसम्म मतदानस्थलसम्म पुग्ने गरी मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसहितका निर्वाचन सम्पन्न गराउन टोली पठाइएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार जिल्लाका अन्य नजिकका ठाउँहरूमा सोमबारदेखि पालै–पालो निर्वाचन सामग्री र सुरक्षा टोलीसहित मतदानस्थल खटाइनेछ । संखुवासभामा एक प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र छ ।

पाँचवटा नगरपालिका र पाँचवटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको संखुवासभामा ७६ वटा वडा छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार संखुवासभामा एक लाख १७ हजार ५५४ जना मतदाता छन् । जिल्लामा एक सय आठ मतदानस्थल र एक सय ६२ मतदान केन्द्र छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search