संखुवासभा । जिल्ला सदरमुकाम स्थित खाँदबारी नगरपालिकामा नयाँ प्रयोग गरिएको छ । खाँदबारी नगरपालिकाले अबको कार्यपालिका बैठकमा नागरिक समाज र सञ्चारकर्मीले राय व्यक्त गर्न पाउने भएको छ । कार्यपालिकाको बैठक कक्षमा नै उपस्थित भएर सम्बन्धित प्रस्तावमा राय दिन पाउने व्यवस्था गरिएको खाँदबारी नगर प्रमुख महेश थपलियाले बताए ।
बुधबार सम्पन्न नगर कार्यापालिकाको १३औं बैठकबाट नै उक्त अभ्यास सुरु गरिएको छ । सम्पन्न बैठकमा ३ प्रस्तावसहितको कार्यापालिका बैठकमा विभिन्न सञ्चारकर्मी र नागरिक समाजले समेत राय व्यक्त गरेका थिए । नगरपालिकाको भगिनी सम्बन्ध रहेको अमेरिका स्थित सुपेरियर सिटीको खाँदबारी नगरपालिका भ्रमण, क्रसर उद्योग सञ्चालन अनुमति र विविध गरि तीन प्रस्तावमाथि बुधबार निर्णय भएको थियो । नगरपालिकाको सबै कार्यपालिका बैठकहरु विभिन्न सञ्चार माध्यममा प्रत्यक्ष प्रशारण समेत हुने गरि तयारी गरिएको छ ।