खाँदबारी । सङ्खुवासभा चैनपुर नगरपालिका निवासी अग्रज कलाकार पदम प्रसाद पौडेलको निधन भएको छ । ६८ भन्दा वढी चलचित्रहरुमा अभिनय गरिसकेका पौडेलको ९० वर्षको उमेरमा बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए ।
आजै साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गर्ने जनाइएको छ । उनले चलचित्र रिसानी माफ, उपद्रो, नालापानी, आधा बाटो लगायत ६८ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । ५३ वटा साना चलचित्र, ११ वटा म्यूजिक भिडियो, ६ वटा विज्ञापनमा समेत अभिनय गरेका छन् ।
पौडेल अभिनित पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ थियो, जुन यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । रिमेश अधिकारी निर्देशन रहेको चलचित्र नालापानीमा राजगुरु भूमिकामा अभिनय गरेका छन् भने अधिप प्रधानको निर्देशन रहेको सरकारी जागिरमा ज्योतिषको भूमिकामा अभिनय गरिरहेका छन् । त्यस्तै सुधित धितालको निर्देशनमा रहेको सिरियल ‘ताल न बेताल’मा पूजारीको भूमिकामा पदमप्रसाद देखिएका थिए । चलचित्र हामी तीन भाई, राजुराजाराम चौर सिपाही, मृत्युन्जय, मसान, खलनायक लगायतमा अभिनय गरेका थिए ।
फिल्मका निर्माताले पौडेलको निधनबाट आफूहरु स्तब्ध भएको जनाएका छन् । हालै रिलिज भएको फिल्म ‘नालापानी’मा उनले राजगुरुको भूमिकामा अभिनय गरेका थिए ।
संखुवासभाको चैनपुरमा बुबा प्रजापति पौडेल र आमा पवित्रा पौडेलको कोखबाट जन्मिएका उनी काठको पाटी र खरिढुंगामा लेख्दालेख्दै शिक्षकसम्म बन्न पुगे । ५ भाइमध्ये साहिँला छोरा पदमप्रसाद मात्र शिक्षित बनेका थिए । ज्योतिष समेत पढेका उनी बुबाको पदचाप भने पछ्याउन सकेनन् । बुबा ज्योतिष, पुरोहित भएर हिंडे भने उनले महालय पुराण भन्ने काम भने गरे । बुबाको इच्छा जजमान बनोस् भन्ने थियो तर उनी भने कलाकारितातर्फ मन डुलाउँदै आएका थिए । वनारसबाट आइएसम्मको शिक्षा लिएपछि उनी नेपाल फर्किए र संखुवासभामा शिक्षण गर्न थाले ।
करिब ३० वर्षको शिक्षण पेशासँगै पत्रकारिता पनि गरेका थिए उनले । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा क्याम्पस उद्घाटनका लागि संखुवासभामा पुगेका थिए । त्यही बेला सिडियोले संखुवासभाबाट रासस प्रतिनिधिका रुपमा पदम सरले मात्र काम गर्न सक्नुहुन्छ भनेपछि प्रधानमन्त्री थापाले रासस प्रतिनिधि बनाइदिएका थिए । २०३८ सालबाट पत्रकारिता गरेका उनले अरुण, तमोर तरेर गाउँ गाउँको रिपोर्टिङ गरेका थिए । उनले २२ वर्ष पत्रकारिता गरेपछि ६० सालमा मन्त्री मिनेन्द्र रिजालको हातबाट सम्मान समेत पाएका थिए ।