संखुवासभाको खाँदबारीमा बजार अनुगमन

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी बजार अनुगमन गरिएको छ । आज बिहीबार जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजनामा खाँदबारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, खाँदबारी १ नम्बर वडा कार्यालय र संचारकर्मीहरुको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । उक्त टोलीले खाद्यान्न बिक्रेताहरुको डिलर पसल तथा ब्याबसायीहरुको गोदामको समेत अनुगमन गरेका थिए । उक्त टोलीले खाँदबारीको मुख्य ४ वटा खाद्यान्न डिलरको अनुगमन गरेको थियो ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जिल्लामा दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिको अवस्था, संचय, गोदाम र म्याद गुज्रेका सामानहरु अवस्थाको बारेमा निरिक्षण गरिएको बताए । ‘सदरमुकाम खाँदबारीमा रहेका मुख्य ४ वटा खाद्यान्न डिलरहरुमा अनुगमन गरिएको हो । त्यसमा तीन वटा डिलरको अवस्था राम्रै भेटियो भने एउटा पसलमा केही म्याद गुज्रेका सामान भेटियो भने पसलमा अवश्यकता अनुसार कागजातहरु नभेटिएको हुदाँ ३ दिन भित्र सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएका छौ ।’—घिमिरेले भने ।

सामान्य त्रुटी गर्नेहरुलाई चेतावनी र निर्देशन दिइन्छ भने गम्भीर त्रुटी भेटिएमा कानुन अनुसार कारबाही गरिने सहायक प्रजिअ घिमिरेको भनाइ छ ।

खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की र संखुवासभा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले समय–समयमा आवश्यकता अनुसार बजारको अनुगमन गरिनु सवल पक्ष भएको बताए । उनीहरुले यसले उपभोक्ता र ब्यापारी दुवैको हित हुने बताए ।

जिल्लाको सरोकारवाला निकायको उपस्थितीमा बजारको मुख्य पसल तथा डिलरहरुको अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खाँदबारीका साथै उत्तरी क्षेत्र तर्फको मानेभञ्ज्याङ बजार र दक्षिण तर्फको तुम्लिङटार बजार समेत चाँडै अनुगमन गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

अखाद्य तथा म्याद गुज्रेको सामान बेच्ने ब्यापारीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहि गरिने प्रशासनको भनाइ छ । अखाद्य भए सामान जफत तथा जरिवाना गर्ने गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search