नवलपरासी । नवलपरासीको बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । त्यहाँका अगुवाले तालिम सञ्चालन गरेर समुदायको सांस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् ।
सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान शुरू गरेको हो । लाखेनाच, धिमेबाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्वसँग जोडिएको तर नयाँ पुस्ताले आधुनिकतासँगै यो बिर्सने थालेकाले संरक्षण अभियान थालिएको हो ।
बालबालिकालाई वाद्यवादन सीप र परम्परागत नाच सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्तामार्फत परम्परा संरक्षण अभियान थालिएको गुठीका सल्लाहकार झकनारायण श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा विभिन्न चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको जानकारी उहाँले दिनुभयो ।