थामेमा गाउँ नै बगाउने ‘हिमबाढी’

काठमाडौं । शुक्रबार दिउँसो साढे १ बजेतिर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, सोलुखुम्बुमा एक्कासी गाउँ नै बगाउने गरी गेग्रानसहितको ठूलो बाढी आयो ।

स्थानीय पीटी शेर्पाका अनुसार, कम्तिमा दुई दशकयता उनले थामे क्षेत्रमा यसरी भेल उर्लिएको देखेका थिएनन् । ‘सानो खोला हो, दिउँसो एक्कासी गाउँ नै बगाउने गरी लेदो र पानी आयो’, उनले भने, ‘धन्न दिउँसो पर्‍यो र मानवीय क्षति हुन पाएन, नभए‘ ।’

अहिले खुम्बु क्षेत्रमा पदयात्रा गर्ने सिजन नभएकाले थामे क्षेत्रमा मानिसहरुको चहलपहल पनि थिएन । जोखिममा रहेका ७ जनालाई भने नजिकै रहेको नेपाली सेनाको पोष्टको टोलीले उद्दार गरेको छ । एक जना भने सम्पर्कबिहीन छन् ।

गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाका अनुसार बाढीले ७ वटा घर र ५ वटा होटल बगाएको छ । थामे आधारभूत विद्यालयको छात्राबास र एउटा क्लिनिकमा पनि पूर्ण क्षति पुगेको छ । थामेमा ५० भन्दा बढी घरहरु छन् । अधिकांश घरहरुमा बाढी पसेर धनमालको क्षति भएको छ ।

बाढीले पुर्‍याएको क्षतिको एकिन विवरण आइसकेको छैन । तर एक अर्बभन्दा कम क्षति नभएको स्थानीय जनप्रतिनिधिहरुको अनुमान छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search