सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । हिजो दिउँसो थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखी नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्र बीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।
फाक्दिङदेखि नाम्चे बिचको दुई ठाउँमा सयरसय मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एक मात्र पदमार्ग भोटेकोशीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको प्रहरी सहायक निरीक्षक हेमबहादुर कटवालले बताउनुभयो ।
थामेखोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोशी हुँदै दुधकोशी नदीमा मिसिएको छ । बाढीले खुम्बुको जलविद्युत आयोजनाको ड्याम बगाउँदा त्यस क्षेत्रमा सञ्चार सेवा समेत ठप्प बनेको स्थानियबासिन्दा ल्हाक्पा नुरु शेर्पाले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पर्यटकीय गाउँ सबै बगायो, देख्दै बिरक्त लाग्दो छ ।’ बाढी भोटेकोशी हुँदै दुधकोशीमा मिसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका जोड्ने दुधकोशी नदी माथीको पाकी मोटरेबल पुलमा गाडी चलाउन नमिल्ने गरि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
पुलमा क्षती पुगेसगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जाल समेत टुटेको छ ।