संखुवासभा। यु.डब्लु.एस नेपाल सङ्खुवासभा र मादी नगरपालिकाको साझेदारी आयोजनामा गरीएको ६ दिने शिक्षक तालिम कार्यक्रम सम्पन्न भएको छ । मादी नगरपालिकाका सबै सामुदायिक विद्यालयका शिक्षकहरुलाई “आधारभूत गणित तथा भाषा” सम्बन्धि शिक्षण सिप विकास गराउने उद्देश्यले दुई चरणमा प्रदान गरिएको छ । यु.डब्लु.एस. नेपालसँग सहकार्य गरी सो तालिम सञ्चालन गरिएको हो । मादी नगरपालिकामा रहेको सामुदायीक सिकाई केन्द्रको परिसरमा भाद्र २३ देखि २८ गतेसम्म सञ्चालन भएको तालिममा ३१ ओटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने ५४ जना शिक्षकहरुको उपस्थिति रहेको थियो ।
तालिम संचालनको औपचारिक समुद्घाटन समारोहका क्रममा मादी नगरपालिका प्रमुख जीवन लिङ्थेपले , यस तालिमले शिक्षकमा थप उर्जा, हौसला र यसबाट सिकेका ब्यबहारीक सीपलाई कक्षाकोठामा प्रयोग गरी शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य योगदान गर्ने विश्वास ब्यक्त गर्नु भएको थियो । यसै गरी युडव्लु एस नेपालका अध्यक्ष खेमराज खड्काले स्थानीय सरकारले सहकार्य र समन्वयको वातावरण सिर्जना गरेको खण्डमा विभिन्न किसिममा व्यवहारीक तालिम र शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम ल्याउन युडव्लुएस नेपाल प्रतिबद्ध रहेको समेत धारणा राख्नु भएको थियो ।
तालिममा नेपाली, अङ्ग्रेजी र गणित विषयलाई कसरी विद्यार्थी केन्द्रित, मनोरन्जनात्मक र खेल बिधीहरुको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न सकिन्छ भनेर शिक्षकहरुलाई विभिन्न विधि र तरिकाहरुको बारेमा जानकारी गरईएको यु.डब्लु.एस नेपाल सङ्खुवासभाका सिनियर एजुकेसन अफिसर बिक्रम भट्टराईले जानकारी दिनु भयो ।

तालिममा सहभागी श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक श्री तारा कार्कीले सहभागी शिक्षकको तर्फबाट बोल्दै यस्तो रचनात्मक तथा फलदायी तालिम प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कक्षाकोठामा व्यवहारीक रुपमा उपयुक्त हुने तरिका सहितका रचनात्मक तालिमहरुको निरन्तरताले सामुदायिक विद्यालयको घट्दो शैक्षिक स्तरलाई उकास्न साथै शिक्षकहरु कक्षाकोठामा उपयुक्त विधि सहित तयार भएर जाने वातावरण सिर्जना हुने र यस्ता तालिमको निरन्तरताले सिकेका र अनुभव गरेका विषयमा पुनर्ताजगी समेत हुने हुनाले यसको निरन्तरताका लागि अनुरोध समेत गर्नु भएको छ।
त्यसैगरी, मादी नगरपालिका शिक्षा शाखा प्रमुख बद्रि कार्कीले तालिमको औचित्य र यसले कक्षाकोठामा पार्ने प्रभाव साथै आगामी दिनमा नगरपालिकाको शैक्षिक सुधारका योजना समेत प्रस्तुत गर्नु भएको छ । तालिम प्राप्त गर्नु मात्र भन्दा पनि त्यसलाई कक्षाकोठामा प्रयोग गर्ने र आफु सधैँ नै नयाँ शिक्षण क्रियाकलाप र सम्बन्धित निकायबाट प्रकाशित सामाग्रीमा अपडेटेड रहन समेत आग्रह गर्नु भएको छ ।
कार्यक्रमको समापन समारोहका क्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीले तालिम रोचक, उत्साहजनक र प्रभावकारी रहेको कुरा आफुले अनुगमनका क्रममा महसुस गरेको र यसले सम्पूर्ण शिक्षकलाई सिकेका कुराहरु कार्यान्वयनमा ल्याउन र आगामी दिनमा अझ यस्ता प्रभावकारी कार्यक्रम संचालन गरी पालिकाको शक्षिक स्तर उकास्नमा पालिका सदैब तत्पर रहेको बताउनु भएको हो । ज्ञान प्राप्त गर्नु ठुलो कुरा नभई त्यसको प्रयोग उपयुक्त तवरले भएमा मात्र सिकाईको सार्थकता रहने भनाई उल्लेख गर्दै अन्यथा ‘रुख देखिन्छ जंगल छैन, जंगल देखिन्छ रुख छैन’ भन्ने भनाई चरितार्थ हुने भनाई राख्नु भएको थियो ।
उक्त ६ दिने तालिमको सहजिकरण, युडव्लु एस नेपालका वरिष्ठ शिक्षा अधिकृत बिक्रम भट्टराई, शिक्षा अधिकृतहरु गोकुल दाहाल र बिनुता तामाङले गर्नु भएको थियो ।
यु डब्लु एस नेपाल बिगत आठ बर्षदेखि सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, गुल्मी तथा तनहुँका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ । संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालका १४ हजार भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित भएका छन् ।











